नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार

नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार

     बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ काे दफा ४९(१) मा व्यवस्था गरिए बमोजिम नेपालमा वाणिज्य बैंककाे काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेका छन् :-
(क) ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने वा विभिन्न वित्तीय उपकरण मार्फत निक्षेप परिचालन गर्ने र तिनको भुक्तानी दिने,
(ख) विद्युतीय उपकरण वा साधनको माध्यमबाट निक्षेप स्वीकार गर्ने, भुक्तानी दिने, लेनदेन गर्ने, मध्यस्थताको काम गर्ने र रकमान्तर गर्ने,
(ग) हायर पर्चेज, लिजिङ्ग, हाउजिङ्ग, अधिविकर्ष लगायतका कर्जा दिने,
(घ) परियोजना तथा हाइपोथिकेशन धितो राखी कर्जा दिने एवं सहवित्तीयकरणको आधारमा धितो विभाजन (पारी पासु) गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुक्त रुपमा कर्जा दिने दिलाउने व्यवस्था गर्ने,
(ङ) विदेशी बैंक वा वित्तीय संस्थाको जमानतमा कर्जा दिने,
(च) आफू कहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पत्तिको मूल्यले खामेसम्मको रकम कर्जा दिने वा अन्य बैंक वा वित्तीय संस्थामा धितो रहिसकेको चल अचल सम्पत्तिको पुनः धितोमा त्यसको मूल्यले खामेसम्मको रकम कर्जा दिने,
(छ) आफ्नो ग्राहकको तफर्बाट जमानतपत्र जारी गर्ने र सो बापत ग्राहकसँग आवश्यक शर्त गराउने, निजको चल अचल सम्पत्ति धितोबन्धक लिने वा तेस्रो व्यक्तिको जेथा जमानत लिने र धितोबन्धक, सुरक्षणमा लिएको सम्पत्ति प्राप्त गर्ने, धारण गर्ने तथा सो सम्बन्धी अन्य कारोबार गर्ने,
(ज) आवश्यकता अनुसार राष्ट्र बैंकबाट पुनर्कर्जा लिने वा अन्य बैंक वा वित्तीय संस्थाबाट कर्जा लिने दिने,
(झ) परियोजनाको प्रबद्र्धनको लागि नेपाल सरकार वा अन्य स्वदेशी वा विदेशी निकाय मार्फत प्राप्त भएको रकमबाट कर्जा प्रवाह गर्ने वा कर्जा व्यवस्थापन गर्ने,
(ञ) प्रचलित कर्जा अपलेखन विनियमावलीको अधीनमा रही कर्जा अपलेखन गर्ने,
(ट) पूँजीकोष पुरा गर्ने प्रयोजनका लागि शेयर, डिबेञ्चर, ऋणपत्र आदि जारी गर्ने,
(ठ) प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रु चेक, ड्राफ्ट वा अन्य वित्तीय उपकरण निष्काशन गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउण्ट गर्ने वा खरिद बिक्री गर्ने,
(ड) विद्युतीय कारोबारका लागि डिजिटल वा कार्ड लगायतका वित्तीय उपकरण जारी गर्ने, स्वीकार गर्ने, व्यवस्थापन गर्ने र सो सम्बन्धी कार्य गर्न एजेण्ट नियुक्त गर्ने,
(ढ) प्रचलित कानूनको अधीनमा रही विदेशी विनिमय कारोबार गर्ने,
(ण) राष्ट्र बैंकले तोकेको सीमा, शर्त वा निर्देशन बमोजिम सरकारी कारोबार गर्र्नेे,
(त) नेपाल सरकार वा राष्ट्र बैंकले जारी गरेको ऋणपत्र खरिद–बिक्री गर्ने वा सकार गर्ने,
(थ) नेपालभित्र वा विदेशमा विनिमयपत्र, चेक वा अन्य वित्तीय उपकरणद्वारा रकम पठाउने वा चलान गर्ने, विदेशबाट विप्रेषण प्राप्त गर्ने र सो को भुक्तानी गर्ने,
(द) ग्राहकको निमित्त कमिशन एजेण्ट भई शेयर, डिबेञ्चर वा सुरक्षणको जिम्मा लिने, खरिद–बिक्री गरिदिने, शेयरको लाभांश, डिबेञ्चर वा सुरक्षणको ब्याज आदि उठाई दिने र सोको लाभांश, मुनाफा वा ब्याज नेपालभित्र वा विदेशमा पठाउने, ग्राहकको लागि सेफ डिपोजिट भल्टको व्यवस्था गर्ने,
(ध) वासलात बाहिरको कारोबार गर्ने,
(न) विपन्न वर्ग, न्यून आय भएको परिवार, दैवी प्रकोप पीडित तथा मुलुकका कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानको लागि व्यक्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोके बमोजिमको रकमसम्म कर्जा दिने,
(प) आफू तथा अन्य बैंक वा वित्तीय संस्थाबाट कर्जा लिने वा कुनै प्रकारको सुविधा लिने ऋणी वा ग्राहकको विवरण, सूचना वा जानकारी राष्ट्र बैंक, सम्बन्धित निकाय वा अन्य बैंक वा वित्तीय संस्थाबीच लिने दिने,
(फ) सुन, चाँदी खरिद–बिक्री गर्ने,
(ब) परियोजना स्थापना, सञ्चालन र मूल्याङ्कन सम्बन्धी अध्ययन, अनुसन्धान, सर्वेक्षण गर्ने गराउने तथा तालीम, परामर्श र अन्य जानकारी उपलब्ध गराउने,
(भ) यस ऐन र प्रचलित कानून बमोजिम आफ्नो स्वामित्वमा आउने सबै प्रकारका जायजेथाको उचित व्यवस्थापन तथा बिक्री गर्ने,
(म) प्रचलित कानून बमोजिम दुई वा दुईभन्दा बढी व्यक्तिहरुबीच हुने कुनै कार्य बापत तिर्नु बुझाउनु वा लिनु पर्ने रकम उक्त काम भएपछि भुक्तानी लिने दिने व्यवस्था गर्न दुई पक्षको सहमतिमा जमानी बस्ने,
(य) राष्ट्र बैंकले तोकेको अन्य काम गर्ने ।

Comments

Popular posts from this blog

कार्यालय व्यवस्थापनमा सूचना प्रणालीकाे आवश्यकता । महत्त्व

बैंक हिसाब भिडान विवरण सम्बन्धी जानकारी